Logo

प्याजको कालोबजारीमा विराटनगरका दुई पसल सञ्चालक पक्राउ

                     
Logo 2020-09-20 06:09     Hamro Biratnagar

13

प्रतिनिधिमूलक तस्वीर

विराटनगर। असोज ४

प्रतिकिलो ५३ रूपैयाँ बढीमा बिक्री

विराटनगरमा प्याजमा कालोबजारी गरेको आरोपमा प्रहरीले गुद्री बजारबाट दुई व्यापारीलाई नियन्त्रणमा लिएको छ।भारतबाट आउन छोडेपछि देशभर प्याजको मन्दी छ भने कालोबजारी पनि बढ्दै गएको छ। प्याजको कालोबजारी गरेकाे आराेपमा विराटनगर महानगरपालिकाका ३८ वर्षीय सञ्जयकुमार गुप्ता र २९ वर्षीय मुकेशकुमार सहनीलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

गुद्री बजारमा सब्जी व्यापार गर्दै आएका यी दुवैले प्रतिकिलो ४७ रुपैयाँमा खरिद गरेर १०० रुपैयाँका दरले बिक्री गरेको पाइएपछि पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार गुप्ताले विजयकुमार योगेस पसल र सहनीले तनिसा ट्रेडर्स पसल सञ्चालन गर्छन्। गोप्य सूचनाका आधारमा पसलमा छापा मार्दा कालोबजारी गरेको खुलेको हो।

पक्राउ परेका दुई व्यापारीलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

लकडाउन खुलेको र भारतबाट प्याज लगायत आयात बन्द भएपछि विराटनगरमा जताततै कालोबजारी र मूल्यवृद्धिका गुनासाहरू बढेका छन्। कुनै वस्तुको कृत्रिम अभाव वा मूल्य वृद्धि गरेर बेचेमा कानूनतः अपराध मानिन्छ।


लोकप्रिय छुटाउनुभयो कि ?