Logo

धितोमा राखेको गरगहना लिएर विराटनगरका ज्वेलरी सञ्चालक बेपत्ता

                     
Logo 2020-09-19 04:09     Hamro Biratnagar

13

प्रतीनिधी मुल्क तस्विर

विराटनगर, असोज ३ । मोरङको बुढीगङ्गा गाउपालिकाको चन्दा ज्वेलर्सका सञ्चालक धितो राखेको सुन लिएर बेपत्ता भएका छन्।

ऋणका लागि ग्राहकले धितोमा राखेको सुनचाँदी लिएर मोरङको बुढिगङ्गामा सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती सङ्गीता भागेका हुन् ।बुढीगङ्गा ३ बाँसवारीकी राधा बरालले सोही ज्वेलर्समा ८ आना सुन धितो राखेर १४ हजार रुपैयाँ ऋण लिएकी थिइन् । भदौ २ गते लिएको ऋण तिर्न जाँदा पसल बन्द गरेर सञ्चालक भागेको थाहा पाएकि हुन् ।

त्यस्तै मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर २ टङ्कीसिनवारीकी देवी थापा निरौलाले विभिन्न मितिमा साढे चार तोला सुन धितो राखी १ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । दश दिनअघि पैसा बोकेर सुन उकास्न जाँदा पसल बन्द थियो । आफूले धितो राखेको सुन उकास्ने योजना रहेकि उनी सञ्चालक नै भागेपछि झसङ्ग भइन् ।

धितोमा सुन राख्ने निरौला र बराल जस्ता तीन सय महिलाहरुको समेत गरगहना लिएर उनीहरु भागेका छन् ।उनीहरूले बोक्ने गरेको मोबाइल फोन स्विच अफ भने दुबैको फेसबुक डियाक्टिभ गरेको छ ।

तीन सय भन्दा बढी पीडित महिलाहरूले जिल्ला प्रहरी कार्यालयमा चन्दन र सङ्गीताका विरूद्धमा किटानी जाहेरी दर्ता गरेका छन् ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

चन्दा ज्वेलर्सले सुन धितोमा राखेर दिएको ऋणको २४ प्रतिशत ब्याज लिने गरेको थियो । लकडाउनका कारण अार्थिक अभाव भएपछि अभाव टार्न धितोमा गरगहना राखेको र यसरी गरगहना नै बोकेर सञ्चालक भागेपछि उनीहरूले प्रहरीमा उजुरी गराएका हुन्।

बेपत्ता दम्पतीले देशका अन्य कुनै ठाउँमा यस्तै पसल खोल्न सक्ने आशङ्का गरेर प्रहरीले छानबिन गरिरहेको डिएसपी राईले जानकारी दिए। सिमाना सिलबन्दी भएका बेला उनीहरू सपरिवार भागेर भारततर्फ जान नसक्ने प्रहरीले जनाएको छ ।

विराटनगरबाट २ वर्ष पहिले पनि ओमलक्ष्मी ज्वेलर्सका शिशु बेगबानी पसल बन्द गरेर यसैगरी सपरिवार भागेका थिए । प्रहरीले उनको पत्ता हालसम्म लगाएको छैन । शिशु र उनको कम्पनी तथा परिवारमा रहेको सबै घरजग्गा बैंकले लिलाम गरिसकेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?