
विराटनगर, असोज २



देशमा लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै लगानीयोग्य रकमको जोहो गर्न बैंकहरुले निक्षेपको ब्याजदर बढाउन थालेका छन् ।
नबिल बैंकले १३ देखि २४ महिना अवधिको मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज दिने योजना हिजो बिहीबार सार्वजनिक गरेको छ । यससँगै अन्य बैंकहरुले पनि ब्याजदर बढाएका छन् ।
लकडाउन सुरु हुनुअघि औसतमा ९.७४ प्रतिशत रहेको मुद्दति निक्षेपको ब्याजदर महामारीपछि घटेर औसत ८.७९ प्रतिशत पुगेको थियो ।
छोटो अवधिको कल डिपोजिटको ब्याजदर सामान्य अवस्थामा ४.३२ प्रतिशत रहेकोमा लकडाउनका कारण १.७३ प्रतिशतमा झरेको थियो ।
यसैगरी, बचत खातामा पनि बढी ब्याजदर पाइने भएको छ । गत फागुनमा ४.७८ प्रतिशत रहेको बचत खाताको ब्याजदर संक्रमणपछि औसत ३.६४ प्रतिशतमा झरेको थियो । बैंकले ब्याजदर कम दिँदा सर्वसाधारणले सहकारीमा रकम जम्मा गर्न थालेका थिए ।
निक्षेपको ब्याजदर घटेपछि ऋण लगानीको ब्याजदर पनि घटेको थियो । गत फागुनमा ११.८० प्रतिशत रहेको ऋणको औसत ब्याजदरमा गिरावट आई १०.४७ प्रतिशत पुगेको थियो ।
हlल बैंकसँग रहेको २ खर्ब रुपैयाँले ऋणको माग ६ महिना पनि धान्न नसक्ने भएपछि रकम तान्न बैंकहरुले ब्याजदर बढाउन थालेका हुन् ।।।