
विराटनगर, भदौ २९



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले हिजो आइतबार अवकाश पाएका छन् ।
६५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् ।
पूर्व एमाले कार्यकर्ता रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र भएका कारण पूर्व गृहसचिव रहेका घिमिरे २०७५ असोज ४ गते आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका थिए ।
निजामति सेवामा ३५ वर्ष बिताएका घिमिरेले २०७१ चैत १९ गते आयुक्तमा नियुक्त भई अख्तियार प्रवेश गरेका थिए ।
अख्तियार प्रमुख बनेपछि विधिलाई सर्वोपरी मानेर अनियमितता गर्ने जो कोहीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका घिमिरेले प्रतिबद्धता अनुसार काम गर्न नसकेको आरोप लागेको छ ।
भ्रष्टाचारका ठूला काण्डमा राजनीतिक पूर्वाग्रहका कारण कुनै कडा कारबाही नगरेको र कार्यसम्पादन र मुद्दा फर्छ्यौट दर बढी देखाउन भ्रष्टाचारका सानातिना खुद्रे मुद्दा बढी दायर गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।
अख्तियारका पूर्वआयुक्त रामनारायण पाठक तथा पूर्वप्रमुख आयुक्त दीप बस्नेतविरुद्ध मुद्दा चलाएर उदाहरणीय काम गरेका उनले बालुवाटार जग्गा खरिद प्रकरणमा राजनीतिक पूर्वाग्रहका कारण नेकपा नेता विष्णु पौडेललाई उन्मुक्ति दिएर प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध मात्र मुद्दा दायर गरिएको भन्दै कानुनविद्हरूले आलोचना गरेका थिए ।
यस घटनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको कठपुतली बनेको आरोप लागेको थियो ।
वाइड बडी, न्यारो बडी विमान खरिद घोटाला,सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, गोकुल बास्कोटा अडियो टेप प्रकरण, रेलको ठेक्का प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणजस्ता मुद्दामा घिमिरेले कुनै नतिजामुखी काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
यससँगै प्रमुख आयुक्तसहित अख्तियारका पाँचमध्ये तीन पद रिक्त भएका छन् ।।।