
विराटनगर, भदौ २९



काठमांडौ उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको आदेश अवज्ञा गर्दै व्यवसायीले सबैखाले पसल खोलेका छन् ।
जिल्ला प्रशासनले बार अनुसार निश्चित वस्तु बिक्री गर्ने पसल मात्र खोल्न पाइने व्यवस्था गरेकोमा व्यवसायीले सबै पसल सञ्चालन गरेका हुन् ।
शनिबारको दिन कपडा, जुत्ता र कस्मेटिक पसल मात्र सञ्चालन गर्न भनिएकोमा इलेक्ट्रोनिक्सलगायत सबै पसल खुलेका थिए । लामो समयदेखि पसल बन्द हुँदा व्यापार ठप्प हुनुका साथै पसलका सामानसमेत बिग्रिएको व्यवसायीको भनाइ छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले ६ महिनाभन्दा बढी समय व्यापार ठप्प हुँदा व्यवसायी सटर भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको भन्दै बजार खोल्न दिनुपर्ने धारणा राखे ।
उपत्यकामा लागू गरिएको जोर बिजोर प्रणालीबाट यातायात सञ्चालनको नियमको पालना पनि फितलो बन्दै गएको छ । टेम्पो, माइक्रोजस्ता साना सवारी चलाउन नदिने निर्णयको पनि सम्बन्धित व्यवसायीले चर्को विरोध गरेका छन् ।
यसैबीच, बजार नियमनको आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय पनि आदेश अवज्ञा भएको जानकारी हुँदाहुँदै पनि मुक दर्शक बनेको छ ।
काठमांडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेश उल्लंघन भएको स्वीकार गर्दै आदेश सर्वसाधारणको हितका लागि जारी गरिएकोले सबै सचेत भएर सोको पालना गर्नुपर्ने धारणा राखे ।।।