Logo

महामारीले सिमेन्टकाे भाउ निरन्तर घट्दै

                     
Logo 2020-09-13 03:09     अभिमन्यु अभिजित

13

प्रतिनिधिमूलक तस्वीर

विराटनगर ।भदौ २८

नेपालमा लगातार भएको लकडाउनले सिमेन्टको मूल्य घटेको छ । पहिलो तीन महिनामा उकालो लागेको सिमेन्टको भाउ पछिल्लो समय ह्वात्तै घटेको हो । प्रतिबोरा ७ सय ८० सम्म पुगेको सिमेन्टको भाउ अहिले ७ सय १० मा झरेको बताइएको छ।

महामारीको कारण सिमेन्टको बिक्री घट्नु, वर्षात्को सिजन र क्लिंकरको मूल्य घटेकाले सिमेन्टको भाउ घटेको हो । प्रत्येक मेट्रिक टनको १० हजार रुपैयाँ पर्ने क्लिंकरको मूल्य ८ हजार रुपैयाँ प्रति टनमा झरेपछि सिमेन्टको भाउ पनि घटेको अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष राजेन्द्र राउतले बताएका छन् ।

राउतले उद्योग बन्द गर्नुको साटो सामान्य मुनाफा पाउने उद्देश्यले उत्पादन घटाएर उद्योग सञ्चालन गरिरहेको बताएका छन् । भारतबाट आउने क्लिंकर कमी भएको छ। नेपालकै उत्पादन राम्रो भएकाले पनि पहिलेको तुलनामा क्लिंकरको मूल्यमा कमी आएको उनले जानकारी दिए ।

अर्घखाची सिमेन्टका सञ्चालक तथा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले भने - 'उद्योग सञ्चालन गर्नुभन्दा बन्द गर्न उपयुक्त भए पनि विद्युत, श्रमिक र कर्मचारीको तलब दिनै पर्ने भएकाले सामान्य उत्पादन गरेर उद्योग सञ्चालन गरिरहेका छौं ।'

मुरारकाले मुलुकमा सानादेखि ठूला आयोजनाहरूको निर्माण कार्य कोरोना संक्रमणका कारण ठप्प रहेकाले सिमेन्टको आन्तरिक खपत घट्दा मूल्य पनि घटेको जनाए । सिमेन्टहरू बिक्री नहुने अवस्था आएपछि लगानी उठाउने उद्देश्यले मात्रले पनि उद्योगहरुले भाउ घटाएर सिमेन्ट बिक्री गर्न बाध्य भएको उनले बताए ।

देशमा सिमेन्टको वार्षिक खपत ८० लाख टन छ । सोही मागअनुसारको उत्पादन नेपाली उद्योगहरुले नै उत्पादन गरिरहेकाले नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको मुरारकाले जिकिर गरे।

क्लिंकरका लागि नेपाली उद्योगहरू नै सक्षम रहेकाले अहिले भारतबाट क्लिंकरको आयात १० प्रतिशतभन्दा कम भएको उनले जानकारी दिएका छन् । निर्माणका लागि अफ सिजन छ त्यसैले बजारमा माग घटेकाले सिमेन्टको मूल्य घटेको बन्धन सिमेन्टका सञ्चालक मनिष मारुले जानकारी दिए।

प्रदेश १ मा भएका उद्योगहरुको बजारका रुपमा रहेको पूर्वका बजारमा वीरगञ्ज, हेटौंडासम्मका सिमेन्ट उद्योगका पनि उत्पादन प्रदेश १ लाई नै लक्षित गरी आइरहेकाले पनि प्रतिष्पर्धा बढी हुने गरेको छ त्यसैले मूल्य नघटाए बजार पाउनै गाह्रो छ।

प्रदेश १ मा झापामा ७, मोरङमा ४, सुनसरीमा १, धनकुटामा १, र उदयपुरमा सरकारी स्वामित्वको सिमेन्ट उद्योग गरी १४ सिमेन्ट उद्योगहरू सञ्चालित छन्।

नेपालभरि ६३ सिमेन्ट उद्योगहरू करिब चार खर्बको लगानीमा सञ्चालित छन् । २१ वटा सिमेन्ट उद्योगका आफ्नै चुनढुंगाको खानी छ भने ४२ वटा सिमेन्ट उद्योग नेपाल र भारतबाट क्लिंकर ल्याएर सञ्चालनमा रहेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?