
पाल आयल निगमले खरिद गरेको कम्प्युटर, ल्याप्टप र प्रिन्टरजस्ता प्रविधिका सामान गायब बनाउन निगमका उच्च तहका कर्मचारीहरुको नै संलग्न भएको पाइएको छ ।



आयल निगम भित्र निगमको लाखौँ रुपैयाँका महँगा कम्प्युटर, ल्याप्टप, प्रिन्टर जस्ता सामान चोरी गर्ने व्यक्ति भैरहवाका डिपो प्रमुख अर्थात् प्रदेश नम्बर ५ को प्रमुखको रुपमा कार्यरत प्रलङ्कर आचार्य रहेको खुलेको छ ।
निगमले खरिद गरेको एप्पल कम्पनिको ४८ इन्चको डेक्सटप कम्प्युटर आचार्यले गायब बनाएको खुुलेको छ । करिब १० लाख रुपैयाँ पर्ने यो कम्प्युटर आचार्यले केही वर्षअघि नै गायब बनाएको निगम स्रोतले प्रमाणसहित बताएको छ ।
कम्प्युटर व्यवसाय समेत गर्दै आएका उनले निगमका महँगा ल्यापटप समेत गायब बनाउने गरेको तथ्य भेटिएको छ । बजारमा २ लाख रुपैयाँ भन्दा बढी पर्ने आइफाइभ एट् सि नाइन ब्राण्डका विभिन्न ल्यापटप उनले गायब बनाएको पाइएको छ ।
आयल निगमको वितरण विभागमा कार्यरत रहँदा यस्ता महँगा चारवटा ल्यापटप उनले गायब बनाएको स्रोतले जनाएको छ । ती ल्याप्टपहरु नियम अनुसार निगमलाई बुझाएर मात्रै खटाइएको स्थानमा जानुपर्ने भएपनि उनी ती सामान नबुझाइकन भैरहवा डिपोमा सरुवा भएको पाइएको छ ।
निगमस्रोतको रेकर्ड अनुसार उनले २०६४ साल पुस ३० गते निगमबाट २ थान ल्यापटप लिएका छन् । त्यस्तै त्यसको एक वर्षपछि २०६५ साल भदौ २३ गते उनले निगमबाटै अर्का २ थान महँगा ब्राण्डका ल्याप्टप लिएर गएका थिए । तर ती ल्यापटपहरू लगेको दसौँ वर्ष बितिसक्दा समेत उनले फिर्ता गरेका छैनन् ।
त्यतिमात्रै होइन प्रशासनमा बस्दा क्याननको एमएफ २४१ एफ मोडलको प्रिन्टर समेत उनले हालसम्म गायब बनाएको तथ्य भेटिएको छ । निगमका सामान यसरी गायब बनाउने आचार्यलाई निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने आकर्षक स्थानमा सरुवा दिँदै आएका छन् ।
‘यसरी निगम भित्र कर्मचारीको आवरणमा इन्धन गायब बनाउनेदेखि महँगा सामान गायब बनाउने धेरै व्यक्ति छन्,’ निगम स्रोतले भन्यो,‘यहाँ कर्मचारीको आवरणमा चोरहरुको विगविगि छ तर कसैले कारबाही गर्ने आँट समेत गर्दैनन् ।’
https://youtu.be/J6lFzGrmsps