
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन्। कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि चीनतर्फको नाकामा सामान रोकिएको भन्दै आज ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीहरूसँगको भेटमा देउवाले प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने बताएका हुन्।



नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार १० महीनादेखि केरुङ नाकामा सामान सहितका रोकिएर बसेका एक हजार २०० वटा कन्टेनर काठमाडौं ल्याउन पहल गरिदिन ज्ञापनपत्र बुझाएको जनाएका छन् ।
ज्ञापनपत्र बुझ्दै सभापति देउवाले सिधै प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष कटुवालले बताए। आफूहरूले कन्टेनर ल्याउन परराष्ट्र मन्त्रालयमा कूटनीतिक पहल गर्दा समेत सम्भव नभएपछि राजनीतिक पहल शुरू गरेको कटुवालको भनाइ छ।
यसबाहेक कोरोनाभाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि व्यवसाय ठप्प भएकोले घरभाडा र बैंकको ब्याज भुक्तानी गर्न नसकेको भन्दै मिनाहा गरिदिने व्यवस्था गरिदिन पहल गर्न समेत कांग्रेस सभापति देउवासमक्ष व्यवसायीहरूले माग गरेका छन्।
महामारीको यो समयमा व्यापार व्यवसायलाई सञ्चालन गर्नका लागि विनाधितो ऋण उपलब्ध गराउन माग गरिएको कटुवालले बताए ।
त्यस्तै, कोभिडको असरबाट क्षति भएको र व्यसाय नै ठप्प भएको अवस्थामा सरकारले आफूहरूलाई कर तिर्न भनिरहेकाले त्यसलाई रोक्न र आन्तरिक विषयहरूमा छुट दिन पहल गरिदिन पनि माग गरिएको अध्यक्ष कटुवालले बताए।
https://youtu.be/J6lFzGrmsps