
विराटनगर, भदौ २८
कोरोना महामारीका कारण लामो समयदेखि ठप्पप्राय रहेको विराटनगर-जोगबनी नाकामा आयात-निर्यात बढ्दै गएको छ ।
लकडाउन खुकुलो भएसँगै उद्योगधन्धा सञ्चालनमा आएकाले आयात-निर्यात वृद्धि भएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।
उनका अनुसार कोरोना संक्रमणका कारण बन्द भएका उद्योगहरूले अहिले ५० देखि ९० प्रतिशत उत्पादन सुरु गरेका छन् । दसैंमा स्वास्थ्य मापदण्ड पूरा गरी बजार खोल्ने तयारी गरेको उनको भनाइ छ ।
उद्योग सञ्चालनसँगै विभिन्न कच्चा पदार्थ तथा तयारी वस्तुको आयात-निर्यात बढेपछि राजश्व संकलनमा सुधार आएको विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले बताए ।
उनका अनुसार सामान्य अवस्थामा दैनिक १५ करोड राजस्व संकलन गर्ने कार्यालयको संकलन चैतदेखि असारसम्म दैनिक १५ लाखमा झरेकोमा साउनयता संकलन पुरानै विन्दुमा उक्लिएको छ ।
दुई अर्ब १८ करोड राजश्व संकलन गर्ने लक्ष्य पाएको कार्यालयले साउनमा दुई अर्ब २४ करोड संकलन गर्न सफल भएको थियो ।
भदौमा तीन अर्ब २३ करोड राजश्व संकलन गर्ने लक्ष्य पाएको कार्यालयले तीन सातामै दुई अर्ब संकलन गरिसकेको छ ।।।