Logo

एनसेल कम्पनीको कालो कमाइमाथि कब्जा जमाउने तयारीमा सरकार

                     
Logo 2020-09-13 09:09     Hamro Biratnagar

13

विराटनगर, भदौ २८

ग्राहकलाई जानकारी नगराई विभिन्न सेवाको स्वतः नवीकरण गरी सबा अर्ब रुपैयाँको ठगी गरेको आरोपमा नेपाल दुरसञ्चार प्राधिकरणले एनसेल कम्पनीसँग प्रष्टीकरण माग गरेको छ ।

एनसेलले विभिन्न शब्दावली प्रयोग गरी नियोजित रुपमा ग्राहकबाट ठगी गरेको रकम असुल उपर गरी ग्राहकलाई क्षतिपूर्ति दिने उद्देश्यले प्रष्टीकरण माग गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

उनका अनुसार प्रष्टीकरण माग गर्दै भदौ १९ गते एनसेललाई पत्राचार गरेकोमा कोरोनाको जोखिमका कारण कर्मचारी नभएको बताएपछि एक हप्ता समय थप गरिएको छ ।

२०७५ असोज १५ गते प्राधिकरणले भ्यालु एडेड सेवाको स्वतः नवीकरण नगर्न जारी गरेको निर्देशन अटेर गरी एनसेलले २०७५ जेठदेखि २०७७ वैशाखसम्म विभिन्न शीर्षकमा एक अर्ब दुई करोडभन्दा बढी रकम गैर कानूनी रुपमा असुल गरेको प्राधिकरणको अनुसन्धानबाट खुलेको छ ।

'गेमलोफ्ट प्याक' स्वतः नवीकरण गरी एनसेलले थप १२ करोड एक लाखभन्दा बढी रकम असुल गरेको देखिएको छ ।

एनसेलले कायम गरेका विभिन्न सेवाको दररेट प्राधिकरणबाट स्वीकृत नगराई प्रचलनमा ल्याएको पनि प्राधिकरणले उल्लेख गरेको छ ।

यसअघि पनि एनसेलले चार अर्बभन्दा बढी रकम गैर कानूनी रुपमा असुल गरेको भन्दै प्राधिकरणले १० लाख रुपैयाँ जरिवाना गरेको थियो ।।।


लोकप्रिय छुटाउनुभयो कि ?