Logo

आमा दिल्लीमा अलपत्र, बाबुले गरे आत्महत्या- छाेराछाेरीकाे कन्तबिजाेग

                     
Logo 2020-09-12 03:09     अभिमन्यु अभिजित

13

तस्वीर - अन्नपूर्ण

विराटनगर । भदौ २७

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–१० की ३८ वर्षीया दिलमाया नेपाली अहिले भारतको नयाँ दिल्लीमा अलपत्र परिरहेकी छिन्।  वैदेशिक रोजगारीका लागि दलालको चुंगुलमा फस्दा उनको अहिले बिजोग भएको हो। राम्रो कमाई गर्न कुवेत लैजाने भन्दै उनलाई दलालले सात महिनाअघि दिल्ली पुर्याएको हो।

उनलाई दिल्ली पुर्याउने दलाल पनि बेपत्ता छ भने उनी घर फर्किन खर्च पनि छैन। यता न उता बनिरहेकी दिलमायालाई दलालले दिल्ली पुर्याएको र महामारीले छोरा छोरीको पनि कन्तबिजोग बनेपछि ज्लालादारीमा काम गर्दै श्रीमान् अशोक दर्जीले पनि आत्महत्या गरे। स्थानीय कुमार मिजारका अनुसार अहिले आमाको दिल्लीमा बिजोग भएको छ भने छोराछोरी घरमा आकूल बनेका छन्।

दुई छोरी र एक छोरालाई पालनपोषण गर्न र आर्थिक स्तर पनि बढ्न मद्दत पुगोस् भनी श्रीमान्कै सल्लाहमा विदेश जाने निधो भएको थियो तर अहिले परिस्थिति फरक बनेको भन्दै टोलभर शोक छाएको छ। १२ बर्षकी छोरी बाबुको काममा बसेकी छिन् भने उनीहरूको घरमा न अन्नको दानो छ न रूपैयाँ!

उक्त परिवारलाई केही संघ संस्थाले सहयोग गरिरहेका छन्। केही दिनअघि आत्महत्या गरेका दर्जीबारे अनुसन्धान भइरहेको छ। अन्तर्राष्ट्रिय नाका पनि बन्द हुँदा आमाको उद्धार गर्न सकिने अवस्था नरहेको वडाअध्यक्ष राजेन्द्रबहादूर थापाले बताए। 'आमा दिल्लीमा अलपत्र छिन् भने बाबुले आत्महत्या गरेका कारण बालबालिकाको बिजोग भएको छ' थापाले बताए।

आमाको उद्धारका लागि पहल गरिदिन पनि उनले सम्बन्धित निकायलाई आग्रह गरिरहेको जानकारी दिए।

उता प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज बरालले बाबुले आत्महत्या गरेको बारे अनुसन्धान भइरहेको जानकारी दिए। यसबारे विस्तृत समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ।


लोकप्रिय छुटाउनुभयो कि ?