विराटनगर, भद्र २७।
दैलेखको भैरवी गाउँपालिका २, रावतकोटमा बिहीबार बेलुका आफ्ना दुइटा गोरुलाई कमल थापाले घरनजिकैको बारीमा बाँधेर, घाँस दिएर घर गए।
बिहीबार बाँधेका गोरूलाई माथिल्लो गरामा सार्न गोरू भएको ठाउँमा थापा आए। आफ्ना गोरूको अवस्था देखेपछि डराए।
‘बिहान माथिल्लो बारीमा गोरू सार्छु भनेर आएको थिएँ, गोरूको त शरीरभर रगत देखेपछि एकछिन त बेहोस जस्तै भएँ,’ उनले भने।
कसैले थापाका दुइटै गोरूलाई निर्मम तरिकाले ठाउँ-ठाउँमा काटिदिएका छन्।
- एउटा गोरूको दुइटै खुट्टा छिनाइदिएका छन्, भने मुखमा पनि धारिलो हतियारले छियाछिया पारेर काटिएको छ।
- अर्को गोरूको एउटा खुट्टा र पुच्छर छिनाइएको छ भने मुख र जुरोमा छियाछिया हुनेगरी धारिलो हतियारले काटिएको छ।
थापाका अनुसार ‘कसले काट्यो भन्ने बारे थाहा छैन, बाँधिराखेका बोल्न नसक्ने प्राणीलाई यसरी निर्दयी बनेर कसरी काटे होलान्, ’‘कसैलाई पूर्ण रूपमा शंका गर्न सक्ने अवस्था पनि छैन।’
उनले दुई जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए। एक जनाको कान र सर्टमा रगट लागेको भेटिएपछि सोधपुछका लागि उनीसहित दुई जना प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।
कानून
मुलुकी अपराध संहिताको दफा २८९ मा यस्तो कार्यलाई पशुपंक्षीसम्बन्धी कसूरका रूपमा व्याख्या गरिएको छ।
- २८९ को उपदफा १ मा कसैले गाई वा गोरू मार्ने वा कुनै चोट पुर्याउने नियतले काम गर्न/गराउन नहुने उल्लेख छ।यसरी कुनै गाई गोरू मरेमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ।
- उपदफा ३ मा कसैले गाई वा गोरूलाई कुटी अंगभंग पारेमा त्यस्तो व्यक्तिलाई ६ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।