
विराटनगर । भदाै २७
बढ्दो कोरोना संक्रमणका कारण यस वर्ष नेपाल राष्ट्र बैंकको नोट वितरण कार्य अन्यौलमा परेको छ । प्रत्येक वर्ष दसैंमा सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने गरेको राष्ट्र बैंकले यस पटक यसको कुनै तयारी सुरु गरेको छैन ।
संक्रमणको जोखिमका कारण नोट वितरणको निर्णय हुन नसकेको बताउँदै नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवति नेपालले संक्रमण बढ्दै गएमा नोट नबाँड्ने निर्णय हुन सक्ने अनुमान गरेका छन् ।
निषेधाज्ञाका बावजुद देशैभर संक्रमण बढिरहेको भन्दै उनले सुरक्षित उपाय अपनाउन सके मात्र नोट बाँड्न सकिने धारणा व्यक्त गरे ।
विगतका वर्षहरुमा नेपाल राष्ट्र बैंकले आफ्ना क्षेत्रीय कार्यालय तथा वाणिज्य बैंकका शाखाहरुबाट प्रत्येक व्यक्तिलाई ५,१०,२०,५० र १०० दरका एक एक बन्डल नोट सटही गरी उपलब्ध गराउने गरेको थियो ।।।