
विराटनगर,भदौ २५
सरकारले जग्गाको कित्ताकाट खुला गरेपछि मोरङको विराटनगरस्थित मालपोत कार्यालयमा सेवाग्राही आउने क्रम बढेको छ ।
विगत तीन वर्षदेखि बन्द रहेको कित्ताकाट गत भदौ २२ गते सरकारले फुकुवा गरेपनि मालपोत कार्यालयले भने हालसम्म कित्ताकाटको काम सुरु नगरेको कार्यालय प्रमुख नरेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमणका कारण डेढ महिनादेखि बन्द रहेको कार्यालय खुलेपछि कित्ताकाटबाहेक जग्गा , फुकुवा,राजिनामा पासजस्ता काम सुचारु भएका छन् ।
सेवा सुरु गरेको पहिलो दिन कार्यालयबाट आइतबार ४४,सोमबार ३९, मंगलबार एक सय दुई तथा बुधबार एक सय ५० भन्दा बढी लिखत पास भएका छन् ।
सेवा सुरु गरेको चार दिनको अवधिमा मालपोत कार्यालयले राजश्व तथा लाभकर संकलनबाट एक करोड तीस लाख रुपैयाँभन्दा बढीको आम्दानी गरेको छ ।