
प्रधानमन्त्री केपी शर्मा ओलीले निस्वार्थ रुपमा जनताको सेवामा समर्पित हुन निजामति कर्मचारीलाई आग्रह गरेका छन् ।
आज निजामति सेवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उच्च नैतिक चरित्रका साथ आफ्नो ज्ञान र अनुभवलाई देशको हितमा प्रयोग गर्न आग्रह गरेका हुन् । नेपालमा पहिलोपटक वि.स.२०१३ साल भदौ २२ गते निजामति सेवा ऐन लागू भएको थियो ।
कोरोना संक्रमणलाई परास्त गर्न अग्र पंक्तिमा रही कार्य गर्ने सबै कर्मचारीहरुप्रति ओलीले सम्मान प्रकट गरेका छन् ।
उनले निजामति कर्मचारीले आफ्नो कर्तव्य पालना गर्दै लोकतन्त्रको अभ्यासलाई थप सुदृढ बनाउन र जनतालाई सुशासनको प्रत्याभूति दिलाउन भूमिका निर्वाह गर्न सक्ने धारणा सन्देशमा व्यक्त गरेका छन् । निजामति सेवालाई संघीयता अनुकूल बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।