Logo

एम्बुलेन्समा राखी किशाेरी अपहरण गर्ने माेरङका ३ जना काभ्रेबाट पक्राउ

                     
Logo 2020-09-06 02:09     Hamro Biratnagar

13

तस्वीर- सेताेपाटी

विराटनगर । भदौ २१

मोरङ जिल्ला पथरी-शनिश्चरे नगरपालिका-८ की १४ बर्षकी किशोरी अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई जना एम्बुलेन्स चालकहरू साँगाबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली तथा एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का नै २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन्।

रणपहेली अपहरित किशोरीका काका नाता पर्ने व्यक्ति हुन्। आचार्य र तामाङ एम्बुलेन्सका चालक भएको प्रहरीले जनाएको छ।

इलाका पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई गत १७ गते काभ्रेको साँगाबाट उद्धार गरी संलग्नहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले आरोपीलाई शुक्रबार अपहरण मुद्दामा अनुसन्धान सुरु गरेपछि सार्वजनिक गरेको थियो।

प्रहरीका अनुसार बालिकाकी आमाले भदौ १६ गते पथरीस्थित एक माइक्रो फाइनान्सबाट दुई लाख रुपैयाँ पैसा झिकेकी थिइन्। उनले रकम घरमा राखेको कुरा रणपहेलीले चाल पाएका थिए। सो पैसा पैसा लिएर भोली आफूसित नहिँडे ज्यान मारिदिने भन्दै रणपहेलीले किशोरीलाई धम्क्याएका थिए।

त्रासका कारण पैसा लिई निस्केकी बालिकालाई एम्बुलेन्समा लैजाने चाँजो रणपहेलीले मिलाइसकेका थिए।

बिहानै ४ बजे रणपहेलीले को२च २८८२ नम्बरको एम्बुलेन्समा बालिकालाई राखे भने सो एम्बुलेन्सका चालक आचार्य रणपहेलीका साथी थिए। संयोगले आचार्य बिरामी बोकेर काठमाडौं जानेवाला थिए।

प्रहरीका अनुसार आचार्यले इटहरीसम्म ल्याएर आफूले चिनेको अर्को एम्बुलेन्स को२च ३१२१ नम्बरका चालक तामाङको जिम्मा लगाइदिए।

उता घरमा पैसा र छोरी दुबै हराएपछि आमाले सोधीखोजी गर्दा बालिका एम्बुलेन्स चढेर हिँडेकोसम्म पत्ता लगाइन् र तुरुन्तै पथरी प्रहरीमा उजुरी गरिन्। यो उजुरी पाएपछि पथरी प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङको खोजतलास शाखामा बालिकाको ‘हुलिया’ टिपायो।

खोजतलासका क्रममा प्रहरीले एम्बुलेन्स काठमाडौंतिर लागेको पत्ता लगायो र काभ्रे प्रहरीसित समन्वय गर्यो। फलतः जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले साँगा चेक प्वाइन्टबाट बालिका र दुवै एम्बुलेन्सलाई समात्यो।

बनेपा पुगेपछि रणपहेलीले बालिकालाई एम्बुलेन्सबाट ओरालेर पहिले इटहरी छोडिदिएकै साथीको एम्बुलेन्समा राखेका थिए। रणपहेलीसहित दुवै एम्बुलेन्स चालकलाई प्रहरीले साँगाबाट समातेर १८ गते पथरी पुर्‍याएर जिम्मा लगायो।

रणपहेली लागुऔषध दुर्व्यसनीमा संलग्न व्यक्ति हुन्। उनले पैसा निकालेको चाल पाएपछि सो पैसाका लागि अपहरण गरेको बुझिन्छ।

काठमाडौं लगिएको बारे अनुसन्धान भइरहेको गिरीले बताएका छन्। रणपहेलीले काठमाडौं पुर्‍याएपछि के गर्थे भन्ने खुल्न नसकेको बताइएको छ।

काठमाण्डौं किशोरीलाई घुमाउन लगिएको बताएपनि त्यसो नहुने गिरीले बताएका छन्। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने किशोरीलाई परिवारको जिम्मा लगाएको छ। जिल्ला अदालत मोरङमा म्याद थप गरी संलग्नहरूमाथि कारबाही प्रक्रिया अघि बढाइरहेको प्रहरीले जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?