Logo

कोरोना विरुद्धको खोप प्रयोगमा ल्याउन हतारिँदै रूस

                     
Logo 2020-09-06 09:09     Hamro Biratnagar

13

रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक -५ प्रभावकारी रहेको रुसी वैज्ञानिकहरुले बताएका छन् ।

मेडिकल जर्नल "द लान्सेट" मा खोपको परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै उनीहरुले गम्भीर साइड इफेक्टरहित खोपले प्रतिरक्षा प्रणाली मजबुत बनाएको जिकिर गरेका छन् । गत अगस्टदेखि मानिसमा प्रयोग हुन थालेको खोपको परीक्षण पर्याप्त नभएको र यसले जोखिम निम्तने विज्ञको सुझावका बावजुद रुसले आफ्नो उत्पादन प्रभावकारी रहेको बताएको छ ।

सबै प्रक्रिया पूरा गरी खोप प्रयोगमा ल्याएको दाबी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीमा समेत सोही खोप प्रयोग गरेका थिए । प्रत्येक पटक ३८ जनामा गरी दुई चरणमा खोपको परीक्षण गरिएको र तीन सातापछि बुस्टर डोज दिइएको जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ । ६ सातासम्म निगरानीमा रहेका १८ देखि ६० वर्षका प्रयोगकर्तामा तीन सातामै एन्टिबडी विकास भएको प्रतिवेदनमा भनिएको छ ।

खोपको प्रभावकारिता पुष्टि गर्न थप परीक्षण गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ । तेस्रो चरणमा ४० हजार जनामा खोप परीक्षण गर्ने रुसको तयारी छ।

डिसेम्बरदेखि खोप सर्वसाधारणमा प्रयोग गर्ने रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले बताइरहँदा विज्ञहरुले भने थप परीक्षणमा जोड दिएका छन् ।।।


लोकप्रिय छुटाउनुभयो कि ?