Logo

न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर जाँदै गरेकाे पानीजहाज जापानमा दुर्घटना

                     
Logo 2020-09-05 02:09     Hamro Biratnagar

13

सांकेतिक तस्वीर

टोकियो । भदाै २०

न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार चालक दलको दोस्रो व्यक्तिलाई उद्धार गरेका छन् ।

जापानी तटीय सुरक्षा दलका अधिकारीहरुले सामुद्रिक आँधी तुफानका कारण ‘गल्फ लाइभस्टक १’ नामको पानीजहाज बुधबार बिहान डुबेको बताएका छन् ।

उद्धारकर्ताहरुले पूर्वी चीन सागरको अमामी ओशिमा द्वीपको उत्तरपश्चिम करिब १२० किलोमिटरको दूरीमा चालक दलका दोस्रो व्यक्ति अचेत अवस्थामा फेला पारेका थिए । तर उपचारका लागि अस्पताल भर्ना भएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

जापानी क्षेत्रीय तटीय सुरक्षा दका प्रवक्ता ताकाहिरो यामादाले समुद्रमा मरेका गाईहरु तैरिएको देखिएको जानकारी दिए ।

करिब ११ हजार ९४७ टन वजनको उक्त पानीजहाजमा ४३ जना चालक दलका सदस्य र पाँच हजार ८०० गाई रहेका थिए । उक्त जहाज मध्य अगष्टमा न्यूजील्याण्डबाट चीनको पूर्वी शहर ताङ्शानतर्फ हिँडेको थियो ।

न्यूजील्यान्डका अधिकारीहरुले उक्त दुर्घटनापछि जिउँदा गाई चीनतर्फ निकासी गर्न तत्कालका लागि बन्द गरिएको र घटनाको अनुसन्धान शुरु भएको बताएका छन् ।

उक्त पानीजहाजबाट एक जना चालक दलका सदस्य ४५ वर्षीय फिलिपिनो नागरिक एडभार्डो सारेनोलाई बुधबार उद्धार गरिएको थियो । एडभार्डोले जहाजको एउटा इन्जिन बन्द भएर जहाज रोकिएकै समयमा निकै शक्तिशाली आँधीले जहाज हल्लाएको र डुबेको बताएका छन् ।

एडभार्डोले आफू लाइफज्याकेट लगाएर समुद्रमा हाम फालेको तर अरु साथीहरुका बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् । पानीजहाजमा ३९ जना फिलिपिनी, दुई जना न्यूजील्यान्ड र दुई जना अस्ट्रेलियाका नागरिक चालक दलका सदस्य रहेको बताइएको छ ।

-एजेन्सीकाे सहयाेगमा


लोकप्रिय छुटाउनुभयो कि ?