Logo

रसियाले बनाएकाे काेराेना खाेप प्रभावकारी रहेकाे दाबी

                     
Logo 2020-09-05 02:09     Hamro Biratnagar

13

मस्काे । भदाै २०

चर्चित मेडिकल जर्नल 'द लानसेट'ले शुक्रबार रसियाले निर्माण गरेको कोभिड-१९ खोप (स्पुतनिक-५)ले प्रारम्भिक चरणका सबै सहभागीहरूमा एन्टीबडी विकसित गर्न सफल भएको नतिजा प्रकाशित गरेको छ।

रसियाले निर्माण गरेको यस खोपमा अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले भने संशय व्यक्त गर्दै आइरहेका छन्।

मस्कोले यस खोपका आलोचकहरूलाई जर्नलले जवाफ दिएको जनाएको छ।

दुई वटा परीक्षणको नतिजाले सबै सहभागीमा बिना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकाश गरेको जर्नलले उल्लेख गरेको छ।

यसै वर्षको जुन-जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण सुरू गरिएको थियो।

रसियाले अगस्टमा भाइरसविरूद्धको यो खोपलाई घरेलु प्रयोगका लागि अनुमति दिएको थियो। यो खोप दुई मात्राको रहेको छ।

रसिया कोरोना विरूद्धको खोप तयार भएर आमप्रयोगका लागि अनुमति दिने विश्वको पहिलो मुलुक हो।

'४२ दिनको अवधिमा ३८ जना स्वस्थ्य वयस्क मानिसलाई समेत समावेश गरी दुई पटक दिइएको खोपले परीक्षणमा सहभागी कसैलाई गम्भीर असर गरेको भेटिएन र खोपले सहभागीहरूमा एन्टीबडी बनाएको पाइयो', लानसेन्टले भनेको छ।

'कोभिड-१९ को संक्रमणलाई रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक तुलनासहितको व्यापक दीर्घकालीन परीक्षण र थप निगरानीको आवश्यक छ', जर्नलमा अगाडि भनिएको छ।

खोपको 'स्पुतनिक-५' नाम तात्कालिन सोभियत युनियनले प्रक्षेपण गरेको विश्वको पहिलो अन्तरीक्ष सेटेलाइटलाई समर्पित गर्दै दिइएको हो।

केही पश्चिमा विज्ञहरूले भने अन्तर्राष्ट्रियरूपमा खोपको प्रमाणिक परीक्षण र नियमन कदम चालेपछिमात्र प्रयोग गर्नुपर्नेमा सचेत गराएका छन्।

तर अन्तर्राष्ट्रिय स्तरमा नै विश्वसनीय रहेको जर्नलले समीक्षा प्रकाशित गरेकाले यो विदेशी आलोचकका लागि मस्कोको जवाफ भएको एक वरिष्ठ रसियाली अधिकारीको भनाइ छ।

पछिल्लो हप्ता रसियाले करिब ४० हजार मानिसमा यसको पछिल्लो चरणको परीक्षण सुरू गरिसकेको छ।

'यसबाट (जर्नलले) हामीले पश्चिमाहरूले विगत तीन सातादेखि सोध्दै आएका सबै प्रश्नहरूको उत्तर दिएका छौं। ती प्रश्नहरू रसियन खोपलाई खोट लगाउने स्पष्ट उदेश्यकासाथ सोधिएको थियो', रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरल दिमित्रीभले भने।

खोप निर्माणमा यो संस्थाको सहयोग रहेको छ।

'सबैको जाँच भएको छ', रोयटर्ससँग उनले भने, 'अब हामी केही पश्चिमा खोपहरूका बारेमा प्रश्न गर्न सुरू गर्नेछौं।'

जोन्स हप्किन्स ब्लुमवर्ग स्कूल अफ पब्लिक हेल्थ, अमेरिकाको इन्टरनेशनल भ्याकसिन एक्सेस सेन्टरका प्रमुख लेखक डा. नोर बार-जीभले प्रारम्भिक परीक्षणको नतिजालाई 'उत्साहजनक तर सानो' प्रतिक्रिया दिएका छन्।

अध्ययनमा सहभागी नरहेका बार-जीभले 'कुनै पनि कोभिड-१९ खोपको चिकित्सकिय प्रभावकारिता अझै नदेखाइएको' बताए।

'नतिजा अहिलेसम्मको केसमा राम्रो हो', लन्डनको स्कूल अफ हाइजीन र ट्रपिकल मेडिसिनका माइक्रोबियल प्याथोजेनेसिसका प्रोफेसर ब्रान्डन व्रेनले भने।

-एजेन्सी


लोकप्रिय छुटाउनुभयो कि ?