Logo

अस्पतालको कर्मचारीको हत्यामा संलग्न भएको आशंकामा एक पक्राउ

                     
Logo 2020-09-05 01:09     Hamro Biratnagar

13

सांकेतिक तस्वीर

ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी हत्यामा संलग्न भएको आशंकामा प्रहरीले भैंसीपाटीबाट एक जनालाई पक्राउ गरेको छ।

अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्यामा संलग्न भएको आशंकामा उनका भतिजा निर्मल केसीलाई पक्राउ गरेर उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

गोदावारी नगरपालिका–१, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको उनको शवको प्रारम्भिक अनुसन्धानमा घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो । शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले बताएका छन् ।

हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक नदेखिएको पोष्टमार्टमपछि विस्तृत जानकारी आउने बताइएको छ ।

ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङले हत्याको कारणबारे अनुसन्धान भइरहेको र ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने जानकारी दिएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?