
राष्ट्रियसभा सदस्य पदमा राष्ट्रपतिबाट मनोनित हुने तीनमध्ये एक रिक्त पदमा कसलाई पठाउने भन्ने विषयमा निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अहिले अफ्ठेरो भएको छ ।
आज ३ बजे बस्ने नेकपाको सचिवालय बैठकले कार्यदल प्रतिवेदनबाहेक रिक्त राष्ट्रियसभाको एक सदस्यमा कसलाई पठाउने भन्नेबारे छलफल गर्ने नेकपा सचिवालयले जनाएको छ ।
बुधबार बेलुकामात्रै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । कार्यदल प्रतिवेदनसँगै गौतमको राष्ट्रियसभा प्रवेशबारे भेटवार्तामा छलफल भए पनि सहमति भने जुट्न सकेन ।
सो पदमा उपाध्यक्ष वामदेव गौतम र विगत ६ महिनादेखि संघीय सांसदविनै मन्त्रीको जिम्मेवारी पाइरहेका डा. युवराज खतिवडा आकांक्षी छन् । खतिवडा भदौ २० भित्र राष्ट्रियसभा सदस्य नबने मन्त्रिरिषदबाटै बिदा हुनेछन् । त्यसैले प्रधानमन्त्री ओली खतिवडालाई सदस्य चयन गर्न लागिपरेका छन् ।
बुधबार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएर खतिवडाको पक्षमा सहयोग गर्न आग्रह गरेका थिए । सो भेटमा ओलीलाई गौतमले फागुन १४ को निर्णय कार्यान्वयन गर्न ओलीलाई सम्झाएका थिए ।
राष्ट्रिय सभामा उपाध्यक्ष गौतमको जाने चाहनामा प्रधानमन्त्री ओलीबाहेक सम्पुर्ण नेकपा पार्टीको साथ छ भने खतिवडाको पक्षमा प्रधानमन्त्री ओलीमात्र छन् ।
नेकपा सचिवालय बैठकले गत फागुनमै रिक्त सो पदमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको भएपनि त्यो निर्णय कार्यान्वयन हुन सकेको थिएन । निर्णय कार्यान्वयन नगरेको भन्दै ओलीसँग नेताहरु असन्तुष्ट रहँदै आएका छन् ।
आज बस्ने बैठकबाट अब राष्ट्रसभामा कसलाई लैजाने हो भन्नेबारेमा छलफल नै मुख्य एजेन्डा रहेको छ ।