
विराटनगर । भदाै १७



पूर्वाञ्चल विश्वविद्यालयले घरैबाट परीक्षा दिने व्यवस्था गर्दै गर्दा परीक्षार्थी र क्याम्पसहरूले पालना गर्नुपर्ने नियम सार्वजनिक गरेको छ। कोरोना भाइरसले परीक्षा केन्द्रमा उपस्थित भई परीक्षा दिन अफ्ठेरो परिस्थिति सिर्जना गरेको भन्दै घरैबाट परीक्षा गराउने तयारी गरेको हो।
सेमेस्टर प्रणालीका स्नातक तथा स्नातकोत्तर तहका परीक्षा वैकल्पिक विधिबाट गराइने परीक्षा नियन्त्रक प्रा डा सूर्यप्रसाद संग्रौलाले बताए। परीक्षा कार्यक्रम बारे निम्नानुसार तयारी भइरहेको जनाइएको छ।
बसोबास गरेकै स्थानबाट परीक्षा
परीक्षार्थीले परीक्षामा सहभागी हुन नियम अनुसार फाराम भरेर परीक्षा व्यवस्थापन कार्यालयबाट अनिवार्य रोल नम्बर प्राप्त गरेको हुनुपर्दछ ।
पू.वि.बाट रोल नम्बर प्राप्त गरेका विद्यार्थीले आफू बसेकै स्थानबाट परीक्षा दिन पाउने छन् ।
परीक्षार्थीले परीक्षा सुरु हुनुभन्दा १० दिन अगाडि आफ्नो आधिकारिक इमेल सम्बन्धित क्याम्पसमा पठाउनु पर्नेछ । इन्टरनेट, विद्युत, पेन, एफोर साइज पेपर आदि परीक्षार्थी आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ।।
उत्तरपुस्तिकामा केही टाइप गर्न नपाइने
परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि मात्र इमेलबाट परीक्षार्थीले प्रश्नपत्र प्राप्त गर्नेछन् ।
उत्तरपुस्तिकाको प्रत्येक पानाको दाहिने भागको माथि आफ्नो रोल नम्बर, विषय, कार्यक्रम, तह, सेमेस्टर र पाना नम्बर अनिवार्य रुपमा लेख्नुपर्नेछ ।
उत्तरपुस्तिकामा परीक्षार्थी स्वयंले हातले लेखेको हुनुपर्नेछ । पू..वि.द्वारा जारी नियममा भनिएको छ, ‘अरुबाट लेखाइएको, कम्प्युटर टाइप गरिएको, कार्बन कपी गरिएको वा पुस्तकबाट हुबहु सारिएको वा अन्य कुनै पनि विधि प्रयोग गरिएको पाइएमा त्यस्ता उत्तरपुस्तिका स्वतः बदर हुनेछ ।’
परीक्षा सकिएको दुई घण्टाभित्र उत्तरपुस्तिकाको फोटो वा स्क्यान गरेर क्याम्पस-कलेजको आधारिक इमेल आईडीमा पठाउनु पर्नेछ ।
प्राप्तांकको पुनर्योग नहुने
यो परीक्षामा सहभागी परीक्षार्थीको प्राप्तांक पुनर्योग नहुने पियुले जनाएको छ । उत्तरपुस्तिकाको प्रतिलिपि समेत परीक्षार्थीले लिन पाउने छैनन् ।
प्रश्नपत्र हाल प्रचलित ढाँचाकै हुने तर वस्तुगत प्रश्न भने सामेल गरिने छैन ।
प्रयोगात्मक परीक्षा भने कोभिड–१९ नियन्त्रणमा आएपछि मात्रै हुने पियुले जनाएको छ ।
चार घण्टाभित्र उत्तरपुस्तिका विश्वविद्यालयमा पुग्नु पर्ने
हाेम एक्जामका लागि पू.वि.ले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, कर्मचारी र सहायक कर्मचारीको व्यवस्था गरेको छ ।परीक्षार्थीको हाजिरी विवरण तयार गर्ने जिम्मेवारी सम्बन्धित क्याम्पस वा कलेजलाई नै दिइएको छ ।
परीक्षा सकिएको दुई घण्टाभित्र परीक्षार्थीले पठाएको उत्तरपुस्तिका त्यसको चार घण्टाभित्र सम्बन्धित क्याम्पस वा कलेजले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयको आधिकारिक इमेलमा पठाइसक्नुपर्ने प्रा.डा. संग्रौलाले जानकारी दिए ।
https://youtu.be/BFpnJ-Qxiak