Logo

पिसीआर बिना नै बिपीमा आकस्मिक शल्यक्रिया

                     
Logo 2020-08-31 01:08     Hamro Biratnagar

13

 

सुनसरीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी युनिटले जोखिम मोलेर पिसिआर परीक्षण बिना नै एक विरामीको सफल शल्यक्रिया गरेको छ । कोरोना भाइरसको संक्रमणको कारण अहिले शल्यक्रिया गर्नुपर्ने विरामीको अनिवार्य पिसिआर परीक्षण गरिन्छ । रिपोर्ट नेगेटिभ आयो भने सहज उपचार हुने र पोजेटिभ आएमा कोभिड अस्पतालमा उपचार हुने गर्दछ ।

कोरोना परीक्षण बिना बिरामीले अस्पतालमा प्रवेश पनि नपाउने अवस्था छ । सामान्य अप्रेसनको लागि पिसिआर रिपोर्ट पर्खनु ठिकै भएपनि इर्मजेन्सी अप्रेशन गर्नुपर्ने विरामी जोखिममा छन् । तर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने यो पटक रिपोर्ट पर्खन नसकिने अवस्था आयो ।

प्रोस्टेटको समस्यासँग जुधिरहेका मोरङका ७८ बर्षीय बृद्धको कोरोना परीक्षण नहुँदै बीपीमा इमरजेन्सी शल्यक्रिया गरिएको हो । विराटनगरको एक अस्पतालमा दुई साता अगाडि गरिएको शल्यक्रिया सफल नभएपछि मुत्रथैलीमा रगत जम्ने समस्याले पीडित भएका बृद्ध भदौ ९ गते बिपीमा भर्ना भएका उनको अवस्था नाजुक रहेकाले युरोलोजी युनिट प्रमुख डा. सुधिर सिंहले तत्काल शल्यक्रिया गर्ने निर्णय लिएका थिए ।

डा. सिंहका अनुसार घण्टौंदेखि पिसाब बन्द भएर छट्पटाइरहेका विरामीको पिसिआर जाँचको रिपोर्ट पर्खने अवस्था नै नरहेकोले आकस्मिक शल्यक्रिया गरिएको थियो । पूर्ण सतर्कता अपनाएर स्वास्थ्यकर्मीले काम गरेमा कोरोना संक्रमित बिरामीको उपचार पनि सहज रुपमा गर्न सकिने उनको भनाइ छ ।

सिंहको नेतृत्वमा डा.आवाज काफ्लेसहित शारदा शिवा र कविता लिम्बुको टोलीले पूर्ण सर्तकता अपनाएर शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि बिरामीको पिसिआर परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार पोजेटिभ रिपोर्ट आएपछि उनलाई कोभिड अस्पतालमा सारिएको छ । उनको अवस्था सामान्य बन्दै गएको प्रतिष्ठानले जनाएको छ ।

बिरामीमा कोरोना पोजेटिभ देखिएपछि संक्रमणको आशंकाले स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा बसेको थियो । पाँच दिनपछि आइतबार उनीहरुको पिसिआर जाँच हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ । शल्यक्रियामा सतर्कता अपनाएको कारण डाक्टर तथा नर्सहरुमा कोरोना संक्रमण नदेखिएको हो ।

https://youtu.be/UxeU_g8y2ZY


लोकप्रिय छुटाउनुभयो कि ?