
अर्थमन्त्री डा. युवराज खतिवडा आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा उपस्थित भएनन् । दिनभर अर्थ मन्त्रालयमै रहेका मन्त्री खतिवडा बैठकमा नदेखिएपछि बालुवाटारमा खासखुस चल्यो, उहाँलाई कोरोना पो लागेछ कि क्या हो !



तर मन्त्री खतिवडालाई कोरोना लागेको चाहिँ होइन, कोरोनाको डर मात्रै लागेको हो । बैठकमा उपस्थित अरु मन्त्रीबाट आफूलाई कोरोना संक्रमण होला कि भन्ने डरले गर्दा मन्त्री खतिवडा बालुवाटार नगएका हुन् ।
मन्त्री खतिवडा बैठकमा नआउनुको कारण भने आइसोलेसनमा बसेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा 'बादल' पनि हिजो साँझको बैठकमा आएका कारण आफुमा कोरोना सल्कने डरले गर्दा मन्त्री बैठकमा नआएका हुन्।
क्याबिनेट बैठकमा सहभागी नभए पनि अर्थमन्त्री खतिवडा मन्त्रालयमा भने नियमित उपस्थित भएर काम गरिरहेकै छन् । सोमबार पनि उनी सधैंझै बिहान ८ बजे नै अर्थमन्त्रालय पुगेका छन् ।
मन्त्री खतिवडा मुटुका बिरामी हुन् । सुगर र प्रेसरको बिरामी भएका कारण उनी कोरोनाको उच्च जोखिममा रहेकाले आफ्नो स्वास्थ्यको ख्याल राख्दै उनी बैठकमा उपस्थित नभएको जनाइएको छ । मन्त्री खतिवडाको पदावधि अबको पाँच दिनपछि अर्थात् भदौ २० गते सकिँदैछ । उनी सांसद पदमा नरहेरै मन्त्री बनेको २० गते ६ महिना पुग्ने भएकाले त्यसपछि स्वतः मन्त्री पदबाट बाहिरिनुपर्ने हुन्छ ।
https://youtu.be/UxeU_g8y2ZY