Logo

आइसीयू खोज्दा खोज्दै एम्बुलेन्समा नै बिरामीको मृत्यु

                     
Logo 2020-08-31 10:08     Hamro Biratnagar

13

तस्बिर : रमेशकुमार/कान्तिपुर

पूर्वी नवलपरासी कावासोती–३ शिव मन्दिर गुम्बाचोकका ५४ वर्षीय होमबहादुर गुरुङको स्वास्थ्य अवस्था गम्भीर भएपछि परिवारले शनिबार राति उपचारका लागि भरतपुर ल्याए । रातभर साना–ठूला निजी तथा सरकारी अस्पताल चहारे ।

कलेजोको बिरामी उनलाई शनिबार कालीगण्डकी अस्पताल लगिएको थियो । दुई घण्टा राख्दा पनि होस नआएपछि त्यहाँका स्वास्थ्यकर्मीले भरतपुर लैजान सिफारिस गरे ।

एम्बुलेन्स खोजेर उनीहरू भरतपुरतिर गए । ‘सुरुमै सीएमसी आयौं । होमबहादुरका भाई टेकप्रसादले भने, ‘बिरामीलाई आईसीयू चाहिने रहेछ । यहाँ छैन अन्तै लैजान भने। रातको लगभग १ बजिसकेको थियो ।

धेरैबेर एम्बुलेन्समै बसेपछि नर्स र डाक्टर आएर भित्र त लगे तर केहीबेरमै होमबहादुरले प्राण त्यागे । ‘डाक्टरहरूले बेलैमा हेरेको भए चित्त बुझाउने बाटो हुन्थ्यो होला तर हेर्न मानेनन्,' होमबहादुरका भाइ टेकप्रसादले भने ।

नारायणी सामुदायिक अस्पताल पुगेका उनीहरूलाई डाक्टरहरू क्वारेन्टाइनमा बसेको जानकारी गराउँदै आईसीयू भएको अस्पताल लैजान भनियो । त्यसपछि पुरानो मेडिकल कलेज (सीएमएस) गए । ‘त्यहाँ पनि आईसीयू छैन भने । अब भएन भनेर फेरि सीएमसीमै आयौं ।’ टेकप्रसादले भने, ‘नर्सहरू आएर एम्बुलेन्सको ढोका खोलेर हेर्नुभयो । आईसीयू नभएको हुँदा राख्न सकिन्न भन्नुभयो ।’

सरकारी अस्पतालमा एम्बुलेन्समा नै लगभग अढाई घण्टा बसेपछि एक महिला स्वास्थ्यकर्मीले आइसीयू नभएपनि इमरजेन्सीमा राखेर केही उपचार उपचार गर्ने बताएपछि इमर्जेन्सीमा हालेर बिरामीका आफन्त आईसीयू खोज्न अरूतिर लागे। सीएमसीबाट आईसीयू छ आउनु भनेर सन्देश आएपछि फेरि त्यहीं गए ।

उनका अनुसार सरकारी अस्पतालमा हुँदासम्म बिरामीलाई ज्वरो आएको थिएन । सीएमसीमा पुर्‍याएपछि एक्कासि ज्वरो आयो । तत्कालै बिरामीलाई भित्र नलगी एम्बुलेन्समै राखियो । करिब डेढ घण्टाजति एम्बुलेन्समै रहँदा होमबहादुर छटपटाउन थालेपछि सबै रुन, कराउन थाले ।'हामी रुन कराउन थालेपछि एक नर्स दौडिँदै आएर दाइको छाती थिच्न सुरु गरिन् । अरू डाक्टर पनि आए ।’टेकप्रसादले भने, ‘त्यसपछि बल्ल भित्र लगे । केही बेरपछि नै दाइलाई बचाउन सकिएन भन्ने खबर ल्याए ।'

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा.दयाराम लम्सालले अस्पतालमा ल्याएपछि तुरुन्तै हेरेको र बचाउन कोसिस गर्दा असफल भएको बताए । ‘भरतपुर अस्पतालबाट रिफर भएर यहाँ आउनुभएको हो । त्यसअघि दुई–चारवटा अस्पताल घुम्नुपरेको रहेछ । यहाँ आएपछि त हामीले सेवा दिएकै हो,’ डा.लम्सालले भने ।

चितवनमा पछिल्लो समय कोरोना संक्रमण तीव्र बढेपछि आईसीयू र भेन्टिलेटर अभाव हुन थालेको चिकित्सकहरू बताउँछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?