Logo

निषेधाज्ञा जारी गरेर सम्बन्धित निकाय किन माैन ?

                     
Logo 2020-08-29 11:08     Hamro Biratnagar

13

काठमाडौं क्षेत्रमा बढिरहेको कोरोना संक्रमितको संख्यालाई ध्यानमा राखेर उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । भाद्र ४ गतेदेखि जारी गरेको निषेधाज्ञा समय थप गरेर भाद्र १७ सम्म लम्बाएको छ ।

जारी गरेको निषेधाज्ञामा न त महामारी रोकथामका लागि आवश्यक काम भएको छ न त कन्ट्याक्ट ट्रेसिङ्को काम प्रभावकारी ढङ्गले गरिएको छ । समुदायस्तरमा फैलिएको संक्रमणले अझ विकाराल रुप लिइरहेको छ ।

उपत्यकामा संक्रमण बढ्दै जाँदा संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको पहिचान र परीक्षण नभएको गुनासो धेरै आउने गरेको छ । आफूले हेर्ने गरेका बिरामीहरुले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ नगरेको गुनासो गर्ने गरेको कोभिड अस्पतालका चिकित्सकहरु सुनाउँछन् तर निषेधाज्ञा जारी गरेर सरकार लगायत सम्बन्धित निकायहरू अझै मौन छन् ।

उपत्यकामा मात्रै संक्रमितको संख्या ४ हजार बढी छ । शुक्रबार मात्र काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ गरी उपत्यकामा ४१५ जना संक्रमित थपिएका थिए भने बिहीबारदेखि ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । काठमाडौंमा त धेरै अघि नै सक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको थियो ।

एक जना संक्रमित भेटिँदा उनीहरुको क्लोज कन्ट्याक्टमा भएका औसतमा १० जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरिएको ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेको दाबी छ तर उनको दाबी र वास्तविकता भने फरक छ । किनभने शुक्रबार उपत्यकामा भेटिएका ४१५ संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा एक जना बराबर १० जनालाई ट्रेस र टेष्ट गर्ने हो भने ४५०० जनाको गर्नुपर्ने हुन्छ तर त्यसका लागि न त कुनै तयारी छ न त्यस अनुरुपको जनशक्ति नै छ।

कन्ट्याक्ट ट्रेसिङका लागि प्रत्येक गाउँपालिकाले १, नगरपालिकाले २ र महानगरपालिकाले ५ वटा टिम बनाएको छन् । काठमाडौं महानगरपालिकाले भने १० वटा टोली बनाएको छ । हरेक टिममा पारामेडिक्ससहित जम्मा तीन जना हुन्छन् ।

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार अहिले भेटिएका सबै संक्रमित निषेधाज्ञा जारी गर्नु अघि नै फैलिएको संक्रमण हो । ‘यो निषेधाज्ञामा महामारी नियन्त्रण गर्न सरकारले के गर्‍यो वा गरेन भनेर अहिले हामीले बोल्नै पर्दैन, अबको २ हप्तापछि तथ्यांकले बोल्छ, दुई हप्तापछि संक्रमित घट्न थाले भने सरकारले निषेधाज्ञा गरेर महामारी नियन्त्रणमा जुटेछ भन्ने बुझ्नुपर्छ, संक्रमित बढिरहे भने सरकारले निषेधाज्ञा जारी गरेर चूप लागेर बसेछ भन्ने बुझ्नुपर्छ’ उनले भने ।

काठमाडौंमा शुक्रबारसम्म ३ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमितमध्ये १८ जनाको मृत्यु भइसकेको छ । ३४६ जना भने निको भएर घर फर्किसकेका छन्।

त्यस्तै भक्तपुरमा ३५४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जनाको मृत्यु भएको छ भने ४६ जना निको भइसकेका छन् । ललितपुरमा पनि ५८६ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ३ जनाको मृत्यु भएको छ र ५५ जना निको भएका छन् ।

‘अब पनि विषेधाज्ञाको सदुपयोग गरिएन भने त संक्रमण घट्दैन’ जिवाणु वैज्ञानिक डा. सुदीप खड्का भन्छन्, ‘समुदायमै गएर व्यापक टेष्ट र ट्रेसिङ नगर्ने हो भने लक्षण रुपमा संक्रमितको संख्या त घट्ला, महामारीलाई रोक्न सक्देनौं।'


लोकप्रिय छुटाउनुभयो कि ?