Logo

आन्तरिक उडान गराउन छलफल

                     
Logo 2020-08-26 01:08     Hamro Biratnagar

13

सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिदै गएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । बन्दाबन्दी भएको पाँच महिना पछि सरकारले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान सुचारू गर्ने भएको छ ।

निश्चित शर्त सहित पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुने बताइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार नजिकिँदै गरेको दशैं तिहार जस्ता चाडबाडलाई मध्यनजर गरेर आन्तरिक उडान सुचारु गर्न लागेको बताएका छन् । देशका धेरैजसो भागमा लकडाउन तथा निषेधाज्ञा रहिरहेकोले हिमाली र पहाडी क्षेत्रमा केही जिल्लाहरूमा उडान सुचारू गर्न छलफल गरिरहेको बताएका छन् । त्यस्तै तराईका जिल्लाहरूमा भने तत्कालै उडान नहुने बताएका छन्।

त्यस्तै पर्यटन मन्त्रालयले भदौ १६ अर्थात् सेप्टेम्बर १ देखि ३० सम्म हुने अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । उडान तालिका अनुरुप एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर उडान हुने जनाएको छ । मन्त्रालयका अनुसार नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्कीको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरी १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिइएको छ ।

स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ भने हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ । यो एक महिनाको अवधिमा १० विदेशी र दुई नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्नेछन् । सरकारले सहजैरुपमा कोरोना परीक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको हो ।

https://youtu.be/-YCDpWZBX2E

 


लोकप्रिय छुटाउनुभयो कि ?