Logo

चितवनको राप्ती नगरपालिकामा निषेधाज्ञा तोडेपछि प्रहरीद्वारा हवाई फायर

                     
Logo 2020-08-17 04:08     Hamro Biratnagar

13

चितवन, १ भदौ । पूर्वी चितवनमा निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको छ । राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले सोमबार एक राउण्ड हवाई फायर गरेको हो ।

स्थानीयको भीड जम्मा भएर निषेधाज्ञा तोडेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञाको समयमा भीडभाड गरेको र स्थानीय दुईपक्षबीच झडप हुने अवस्था आएपछि भीडलाई नियन्त्रणमा लिँदै निषेधाज्ञा कार्यान्वयनका लागि हवाई फायर गरिएको हो ।

भीडलाई उत्तेजित गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय ठाकुर बर्तौला रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले पिप्ले मन्दिरमा पूजा गरिएको ढुङ्गा सोही नगरपालिकाको पाख्रिबासकी सरस्वती पुन नाम गरेकी महिलाले लगेपछि स्थानीयले ढुङ्गा फिर्ता ल्याउनुपर्ने भन्दै भेला भएका थिए ।

ती महिलाले सपनामा भगवानले सो ढुङ्गा ल्याउन भनेको भन्दै लगेको प्रहरीले जनाएको छ । ढुङ्गा फिर्ता ल्याउन भेला भएका स्थानीयलाई सुरक्षाकर्मीले रोकेपछि झडप भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?