Logo

८० जनालाई एउटै धारा, एउटै शौचालय : क्वारेन्टाइनमा सकस

                     
Logo 2020-08-17 07:08     Hamro Biratnagar

13

तस्बिर : पर्वत पोर्तेल

काँकडभिट्टा । नगरपालिका-६ मेचीनगर स्थित क्वारेन्टाइन भवनमा तेस्रो मुलुक तथा भारत बाट आएका ८० जनाभन्दा बढीलाई राखिएको छ । क्वारेन्टाइन भवनको व्यवस्थापन फितलो रहेको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

भारतको असमबाट आएर बसेका दुर्गा बस्नेतले भने, ‘असी जना बसेका ठाउँमा एउटा धारा र एउटा ट्वाइलेट मात्रै छ’, ‘क्वारेन्टाइनबाट कोरोना फैलने सम्भावना बढेको छ । पीसीआर रिपोर्ट एक साता बितिसक्दा पनि आएको छैन । यसले गर्दा चाँडै घर जाने आसमा रहेका उनीहरू निराश भएका छन् ।

नगरले साउन २६ मा क्वारेन्टाइनमा बसेकामध्ये ३८ जनाको पीसीआरका लागि स्वाब पठाएको विपद् व्यवस्थापन समितिका संयोजक नवीन बरालले जानकारी दिएका हुन । रिपोर्ट आउन ढिलाइ हुँदा क्वारेन्टाइनमा आक्रोश बढ्न थालेको उनको भनाइ छ ।

आइतबार मेचीनगरकी उपमेयर मीना उप्रेतीसहितको टोली क्वारेन्टाइन निरीक्षणमा पुगेको थियो । त्यहाँ रहेकाहरूले टोलीसँग पर्याप्त मास्क नदिइएको, साबुन, सेनिटाइजरजस्ता अत्यावश्यक सामग्री नपाएको गुनासो गरेका थिए । ‘१० दिनदेखि एउटै मास्क लगाएर बस्नुपरेको छ,’ सुमन चापागाईंले भने ।

उपप्रमुख उप्रेतीले मास्कलगायत सामग्री तत्काल उपलब्ध गराउन र क्वारेन्टाइन व्यवस्थित गर्न जनप्रतिनिधिलाई आग्रह गरिन् । उनले भनिन्, ‘समयमा पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरू आक्रोशित बन्नु स्वाभाविक हो ।’


लोकप्रिय छुटाउनुभयो कि ?