
प्रदेश १ सरकारले कोरोना परीक्षणमा असहयोग गरेको गुनासो गर्दै आएको विराटनगर महानगरपालिकाले छुट्टै पीसीआर मेसिन खरिदको तयारी गरेको छ । पीसीआर जाँचकाे रिपाेर्ट ढिलो आएपछि विराटनगर महानगरपालिकाले छुट्टै मेसिन खरिद गर्ने तयारी गरेको हो ।
महानगरले खरिद गरेको मेसिन कोशी अस्पताल विराटनगरको साझेदारीमा सञ्चालन हुनेछ । ‘हामीसँग दक्ष प्राविधिक जनशक्ति छैन् । पीसीआर खरिद गरी कोशी अस्पतालसँग साझेदारीमा सञ्चालनको तयारी छ,’ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने, ‘पीसीआर खरिदको प्रकृया सुरू भएकाे छ ।’
पीसीआर मेसिन खरिद गर्न सहज भए पनि सञ्चालन कठिन भएकाले कोशी अस्पतालसँग साझेदारीमा सञ्चालन गर्ने तयारी भएको पराजुलीले बताए ।
केही दिन अघि मेयर पराजुलीले ‘पीसीआर चाँडो गराइदिनुपर्यो भनेर क-कसलाई चाकडी गर्नुपर्ने हो ? हरेक कुरामा असहयोग, यो त अति भो ।’ भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका थिए । प्रदेश सरकारबाट मागे अनुसारको सहयोग नपाएको उनको गुनासो छ ।
विराटनगर महानगरपालिकाले संकलन गरेको स्वाब कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच हुँदै आएको छ ।
विराटनगर महानगरपालिकाले दैनिक सरदर १७५ जना भन्दा बढीको को पीसीआर जाँचका लागि स्वाब संकलन गर्दै आएको छ । यो संख्या बढाएर दैनिक पाँचसय बनाउनका लागि मेसिन थपको प्रकृया अघि बढाएको हो ।
समुदायस्तरमा संक्रमण फैलिएकाले संक्रमण रोक्नका लागि द्रुत परीक्षण आवश्यक रहेको उनले बताए । तर प्रयोगशालाको क्षमता सिमित भएका कारण स्वाब संकलन गरेको चार दिनपछि मात्र रिपोर्ट आइरहेको महानगरपालिकाले जनाएको छ । (Source- Koshi online)